ICANN (Internet Corporation for Assigned Names and Numbers) इन्टरनेटको एक महत्वपूर्ण गैर-नाफामुलक संस्था हो जसले डिजिटल संसारको ठेगाना र नामहरूको व्यवस्थापन गर्दछ। यसको मुख्य जिम्मेवारी इन्टरनेटको Domain Name System (DNS) लाई सुरक्षित, स्थिर र व्यवस्थित राख्नु हो, जसले गर्दा हामीले ब्राउजरमा google.com जस्ता नामहरू टाइप गर्दा कम्प्युटरले बुझ्ने सही IP Address फेला पार्न सक्छ। ICANN ले सिधै डोमेनहरू नबेचे पनि यसले डोमेन बिक्री गर्ने रजिस्ट्रारहरू (जस्तै GoDaddy वा नेमचिप) लाई नियमन गर्छ र कुन डोमेन कसको स्वामित्वमा छ भन्ने जानकारी दिने WHOIS डेटाबेसको मापदण्ड तय गर्दछ। यसका साथै, यसले नयाँ डोमेन एक्सटेन्सनहरू (TLDs) स्वीकृत गर्ने र विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूले एउटै नाम टाइप गर्दा एउटै आधिकारिक वेबसाइटमा पुग्ने कुराको सुनिश्चितता गर्दछ, जसले गर्दा इन्टरनेटमा ब्राण्डको सुरक्षा र विश्वव्यापी पहुँच सम्भव भएको छ।
युनिभर्सल एक्सेप्टेन्स (UA) एउटा प्राविधिक मापदण्ड हो जसले इन्टरनेटमा रहेका सबै वैध डोमेन नाम र इमेल ठेगानाहरूलाई सबै सफ्टवेयर, एप्लिकेसन र प्रणालीहरूले समान रूपमा चिन्न र प्रयोग गर्न सक्ने सुनिश्चित गर्दछ।पहिले इन्टरनेटमा केही सीमित डोमेनहरू (जस्तै .com, .net) मात्र हुन्थ्यो, तर अहिले प्रविधि निकै अगाडि बढिसकेको छ। हाल नेपाली (जस्तै: .नेपाल), हिन्दी, अरबी वा चिनियाँ जस्ता स्थानीय भाषाहरूमा पनि डोमेन नामहरू उपलब्ध छन्। यद्यपि, धेरै पुराना सफ्टवेयर र वेबसाइटहरूले यी नयाँ र बहुभाषिक डोमेनहरूलाई अझै पनि "अवैध" मान्ने वा नचिन्ने समस्या छ। UA ले यही समस्या समाधान गरी सबैका लागि खुला र समावेशी इन्टरनेटको वकालत गर्छ।
UA का मुख्य स्तम्भहरू:UA ले मुख्यतया ५ वटा प्राविधिक प्रक्रियाहरूमा ध्यान दिन्छ:
१. Accept (स्वीकार गर्ने): प्रयोगकर्ताले फारममा भरेको जुनसुकै भाषाको डोमेन वा इमेल प्रणालीले लिने हुनुपर्छ।
२. Validate (प्रमाणीकरण): त्यो ठेगाना सही छ कि छैन भनेर जाँच्ने तरिका आधुनिक हुनुपर्छ।
३. Process (प्रक्रिया): सर्भरले त्यसलाई सही तरिकाले बुझ्नुपर्छ।
४. Store (भण्डारण): डेटाबेसमा बहुभाषिक अक्षरहरू सुरक्षित रूपमा बस्नुपर्छ।
५. Display (प्रर्दशन): प्रयोगकर्ताले आफ्नै भाषामा त्यो डोमेन वा इमेल स्पष्ट देख्न पाउनुपर्छ।
UASG (Universal Acceptance Steering Group) सन् २०१५ मा स्थापना भएको एउटा समुदाय-नेतृत्वको पहल हो, जसलाई ICANN ले आर्थिक र प्राविधिक सहयोग गर्दछ। यसमा विश्वभरका १२० भन्दा बढी कम्पनी, सरकार र समुदायका प्रतिनिधिहरू सहभागी छन्।UASG का मुख्य कार्यहरू:जनचेतना फैलाउने: विश्वभरका सफ्टवेयर डेभलपर र कम्पनीहरूलाई UA को महत्वबारे जानकारी दिने।स्रोत र साधन उपलब्ध गराउने: सफ्टवेयरलाई 'UA-Ready' बनाउन आवश्यक पर्ने गाइडबुक र टुल्सहरू नि:शुल्क प्रदान गर्ने।अनुगमन गर्ने: इन्टरनेटका विभिन्न प्रणालीहरूमा UA कत्तिको लागू भइरहेको छ भनेर मापन र अनुसन्धान गर्ने।



